लामो समयदेखि कोमामा रहेको एनबी इन्सुरेन्सलाई सक्रिय

लामो समयदेखि ‘कोमा’मा रहेको एनबी इन्सुरेन्सलाई सक्रिय बनाउन सोमवार सञ्चालक समितिको गठन भएको छ । सोमवारै बसेको सञ्चालक समितिले संस्थापक सेयरधनीबाट कम्पनी सञ्चालनका लागि लगानी थप्ने प्रस्ताव पनि पारित गरेको छ । एनबी बैंक तथा एनसिसि बैंकसँग भएको एनबी इन्सुरेन्सको संस्थापक सेयर आईएमई समूहले खरिद गरेपछि सोमवार बीमा समितिले नयाँ र पुराना लगानीकर्ताको बैठक बोलाएको थियो । बीमा समितिले बोलाएको बैठकमा नयाँ संस्थापकबाट तीन जना सञ्चालक तथा पुराना संस्थापकबाट दुई जना सञ्चालक चयन गरिएको छ । नयाँ सेयरधनीका तर्फबाट अम्बिका पौडेल, योगेश्वर शर्मा ढकाल तथा प्रतापजंग पाण्डे सञ्चालक छानिएका छन् । त्यसैगरी अर्को संस्थापक एनबी बैंकले सुरेश देवाकोटा तथा एनबी समुहका तर्फबाट एलसन श्रेष्ठ सञ्चालक छानिएका छन् । सोमवारै सञ्चालक समितिको बैठकले अम्बिका पौडेललाई कम्पनीको अध्यक्षमा निर्विरोध चयन गरेको छ । अध्यक्ष पौडेल हाथ्वे इन्भेष्टमेन्टका प्रवन्ध सञ्चालक हुन् । सञ्चालक समितिको बैठकले कम्पनी सञ्चालनका लागि संस्थापक सेयरधनीले लगानी थप्ने प्रस्ताव पारित गरेको छ । चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्याउन २०७० असार २८ गतेको सञ्चालक समितिले प्रस्ताव गरेको दश सेयर बराबर आठ सेयर हकप्रद जारी गर्ने निर्णयलाई अघि बढाउने निर्णय गरेको हो । त्यसका लागि नयाँ र पुराना संस्थापकलाई १५ दिन भित्र ‘कल इन एडभान्स’मा हकप्रद सेयर बराबरको रकम जम्मा गर्ने आव्हान गरिएको, अध्यक्ष ढकालले बिजमाण्डूलाई जानकारी दिए । तोकिएको चुक्ता पुँजी पुर्याएपछि एनबी इन्सुरेन्स माथिको कारवाही हटाउने जानकारी पनि बीमा समितिले दिएको छ । कम्पनी सञ्चालनका लागि अहिले पुँजीको आवश्यकता छ, पुँजी जम्मा भएपछि मात्रै कम्पनी सञ्चालनको वातावरण बन्छ, अध्यक्ष पौडेलले बताए । सोमवार बसेको सञ्चालक समितिले एनबी इन्सुरेन्सको कार्यालय उपयुक्त स्थानमा सार्ने निर्णय पनि गरेको छ । पौडेलले भने, हामीले निर्णय गरेका छौं, अब उपयुक्त स्थानमा कार्यालय खोज्छौं । एनबी इन्सुरेन्सको ४५ प्रतिशत बढी सेयर केही साता अघि आईएमई समूहले खरिद गरेको थियो ।’,’‘कोमा’मा रहेको एनबी इन्सुरेन्स सक्रिय, पौडेल अध्यक्षको सञ्चालक समिति, पुँजी थप्दै संस्थापक